‘२६ करोड’ निर्माण घोषणा

फिल्म । भारतीय अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा आयोजित समारोहबीच फिल्म निर्माणको घोषणा गरिएको हो । ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सरपीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (सीपीएए)ले आयोजना गरेको ‘रोज डे’ समारोहका बीच फिल्मको घोषणा गरिएको हो ।

समारोहमा फिल्मकी मुख्य अभिनेत्रीका रूपमा साहारा आर शाहलाई अनुबन्ध गरिएको छ । निर्माता सुवास भुसाल र नवअभिनेत्री शाहबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । शाहले अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमी’मा अभिनय प्रशिक्षण लिएकी छन् ।

अभिनेता ओबेरोयले साहाराले फिल्ममा डेब्यु गर्न लागेको विषय आफ्ना लागि जन्मदिनको सबैभन्दा ठूलो उपहार भएको बताए । ओबेरोयले लामो समयदेखि साहाराको अभिभावकत्व सम्हाल्दै आएका छन्। साहारा तीन वर्षको उमेरदेखि क्यान्सरसँग संघर्षरत थिइन्। क्यान्सरलाई जितेकी साहारालाई सीपीएएमार्फत ओबेरोयले स्वास्थ्योपचार, शिक्षा तथा संरक्षकत्व प्रदान गर्दै आएका छन्।

फिल्म घोषणा समारोहलाई सम्बोधन गर्ने क्रममा ओबेरोय भावुक बने । उनले साहारालाई बाल्यकालदेखि नै क्यान्सरसँग लडिरहेको देखेको स्मरण गर्दै अहिले उनलाई फिल्मको मुख्य अभिनेत्रीका रूपमा सम्झौता गरिरहेको देख्दा आफू भावुक भएको बताए।

सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मको लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। निर्देशक सुवेदीका अनुसार साहारा अडिसनमार्फत फिल्मका लागि छनोट भएकी हुन्। कथाअनुसार हिन्दी लवजकी अभिनेत्री आवश्यक भएकाले पनि उनलाई छनोट गरिएको उनले बताए।

फिल्ममा औपचारिक रूपमा आबद्ध हुनुअघि साहाराले अभिनेता ओबेरोय र ‘तारे जमिन पर’का लेखक अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन्। कार्यक्रममा ओबेरोयले फिल्मको सफलताको शुभकामना दिँदै निर्देशक सुवेदी र निर्माता भुसाललाई धन्यवाद दिए। उनले साहाराको सुखद फिल्मी करियरको कामनासमेत गरे।

यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। प्रदीपको जोडीका रूपमा साहाराले नेपाली फिल्ममा डेब्यु गर्नेछिन्।किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी नोभेम्बर-डिसेम्बरमा हुनेछ । फिल्मको छायांकन नेपालको जुम्ला र काठमाडौंसँगै भारतको मुम्बई तथा केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्