फिल्म । अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ कदम अघि बढाएकी छन् । उनी नेपालमा डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडसँग ब्रान्ड फेसका रूपमा जोडिएकी हुन् ।
यस सहकार्यअन्तर्गत वर्षाले मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धनसँगै बजारीकरण, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नेछिन् । यससँगै उनी संस्थाको दीर्घकालीन व्यावसायिक यात्रासँग पनि जोडिएकी छन् ।
मनोरञ्जन क्षेत्रमा अभिनय तथा सार्वजनिक पहिचान बनाएकी वर्षाका लागि यो सहकार्य ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नयाँ व्यावसायिक यात्राको सुरुवातका रूपमा लिइएको छ ।
‘एक अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्ड तथा संस्थासँग सहकार्य गर्ने अवसर पाएकी छु । तर, यसपटक म ब्रान्डको अनुहारका रूपमा मात्र नभई संस्थाको विकास र यात्रासँग अझ नजिकबाट जोडिन चाहन्थेँ । स्वास्थ्यजस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर पनि हो’, वर्षाले भनिन् ।
उनले आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित नराखी नयाँ क्षेत्र सिक्ने र व्यावसायिक रूपमा विस्तार गर्ने अवसर खोजिरहेको बताइन् । ‘मैले आफ्नो करियरमा आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित राख्नुभन्दा नयाँ क्षेत्रहरू सिक्ने र आफूलाई विस्तार गर्ने अवसरहरू खोजिरहेकी छु। मेडिक्वेस्टसँगको यो सहकार्यले मलाई स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने र आफ्नो अनुभव तथा सिर्जनात्मकतालाई फरक क्षेत्रमा प्रयोग गर्ने अवसर दिएको छ’, उनले भनिन् ।
वर्षाका अनुसार आगामी दिनमा मनोरञ्जनसँगै व्यवसाय, ब्रान्ड विकास र उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो भूमिका विस्तार गर्दै लैजाने योजना छ ।मेडिक्वेस्टसँगको सहकार्यले वर्षाको अभिनेत्रीका रूपमा स्थापित करियरसँगै उनको नयाँ व्यावसायिक तथा उद्यमशील पहिचानलाई समेत फराकिलो बनाउने अपेक्षा गरिएको छ ।










