सङ्गीत । गायिका समीक्षा अधिकारी र गायक मानस राजको स्वर रागेको नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतको भिडिओलाई अस्ट्रेलियास्थित मेलबर्नको रमणीय दृश्यमा छायांकन गरिएको छ ।
गायक मानस राजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडिओमा पुजा क्षेत्री र सायद श्रेष्ठसहित गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्री फिचर्ड छन् ।
नेपअसले तयार गरेको तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ को भिडिओमा नृत्य निर्देशन र निर्देशन सायद श्रेष्ठको रहेको छ । उनले मेलबर्न नेपाली कला, संस्कृति र भेशभूषाको प्रवद्र्धन गर्न यस्ता गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
निर्देशक श्रेष्ठ मेलबर्नमा रहेर नेपाल कलासँग जोडिएका विभिन्न विधामा सक्रिय छन् । यस्तै, तीज गीतमा अभिनय गर्न पाउँदा मोडल पूजा क्षेत्रीले पनि खुसी व्यक्त गरिन् । उनले नेपालमै रहेर तीज मनाएको अनुभव छायांकनका क्रममा भएको बताइन ।
गायक तथा सङ्गीतकार मानस राजले पहिलोपटक तीज गीत तयार गरेका हुन् । ‘भाइरल भइदियो’ गीतमार्फत भाइरल गायकको परिचय बनाएका मानसका फिल्म ‘रेशम फिलिलि’को ‘पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो’, ‘डायरी’को ‘माया मायामा’, ‘हिरो’, ‘लैलै राजकुमारी’ लगायतका गीत चर्चामा छन् ।
भिडिओमा जीवन रसाइली को छायांकन, दिन्सन शाहको सम्पादन र रङ्ग संयोजन रहेको छ । आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन भएको भिडिओलाई नेपअसले तयार गरेको हो । प्रदीप दाहाल निर्माता, अन्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडिओ निर्माणमा आरएफएम फ्यास्लिटी म्यानेजमेन्ट, लेनवे डम्पिङस एण्ड मोमोले सहयोग गरेका छन् ।










