फिल्म । ‘गोपी’ फिल्म युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार काठमाडौंमा विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे । सहभागीहरुले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता सिर्जना गरेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको थियो । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविताले तृतीय पुरस्कार जित्न सफल भएका थिए् ।
प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले बुधबार गरेका हुन् । आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।
उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् । निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक भएपछी कविता प्रतियोगिताको घोषणा गरेको थियो । विपिन कार्की , वर्षा राउत , सुरक्षा पन्त अभिनित फिल्मले स्वावलम्बन तथा स्वरोजगारको कथा समेटेको थियो ।