सौन्दर्य । राजधानीमा सम्पन्न १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ‘नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६’मा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले मुख्य उपाधि जितेकी हुन्।
उपाधिसँगै तिशाले नगद एक लाख रुपैयाँ प्राप्त गरिन्। उनले मिस नेवाः नेपालको मुख्य ताजसँगै ‘गोदावरी नगरपालिका बेस्ट नेपालभाषा’को उपाधिसमेत जितेकी छन्। उक्त उपाधिका लागि उनले थप १० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। फस्ट रनर्सअप सारिकाले ५० हजार तथा सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्यले ‘मिस ट्यालेन्ट’को उपाधि जितिन्। हिमानी प्रधान फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप बने।
करुणा चक्रधर र शिक्षा महर्जन ‘सोसियल वेलफेयर एम्बेसडर चिफ’ घोषित भए। सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने। प्रतियोगितामा दुर्गा देउलाले ‘मिस डिसिप्लिन’, हिमानी प्रधानले ‘मिस पब्लिक च्वाइस’ र प्रिस्टिन अवालेले ‘बेस्ट ड्रेस’को उपाधि जिते। कञ्चनजंघा अगरबत्ती ‘मिस कल्चर’को उपाधि शिक्षा महर्जनले नगद १० हजार रुपैयाँसहित प्राप्त गरिन्। त्यस्तै, बेलाभिटा ‘मिस पर्सनालिटी’को उपाधि निश्ला महर्जनले नगद १० हजार रुपैयाँसहित जितिन्।
श्री केश ‘बेस्ट हेयर’को उपाधि कलशा अवालेले नगद १० हजार रुपैयाँसहित प्राप्त गरिन्। दृष्टि महर्जनले ‘बेस्ट स्किन’, सारिका महर्जनले ‘मिस फोटोजेनिक’, अनुष्का नाकर्मीले ‘मिस स्माइल’ र सोनिया महर्जनले ‘मिस चार्मिङ’को उपाधि जिते। ‘मिस फ्रेन्डसिप’को उपाधि रेजिना बज्राचार्यले प्राप्त गरिन्।
नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौँ शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए।
फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौँ शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। विभिन्न विधाका उपाधिमार्फत प्रतियोगीहरूको प्रतिभा तथा सांस्कृतिक पहिचानलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना गर्दै आएको बताइन्। उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतियोगीको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वलाई समेत मूल्यांकन गरिन्छ।
प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न भएको हो। मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनले सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनले संयोजन गरेका थिए।












