‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

फिल्म । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर फिल्म हेर्न पाउने भएका छन् । आगामी भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले ‘युनिभर्सल’ सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुसी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई फिल्म हेर्न आग्रह गरेकी छन् ।

‘हाम्रो फिल्म ‘पार्वती’ साना बाबुनानीदेखि हजुरबुबा-हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ । माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो फिल्म हेर्न नभुल्नुहोला,’ निर्देशक ढुङ्गानाले भनिन् । गत बिहीबार सार्वजनिक गरिएको फिल्मको चार मिनेट लामो ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले फिल्मप्रति दर्शकको चासो बढाएको निर्माण पक्षले जनाएको छ ।

अटिजम भएकी दिदी र भाइबीचको माया तथा स्नेहको कथामा आधारित फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक नीता ढुङ्गानाकै रहेको छ भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन् ।

यसअघि सार्वजनिक भएका ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतले पनि राम्रो चर्चा पाएका छन् । फिल्मका गीतमा बाबुल गिरी र दीपक शर्माको संगीत, हर्क साउद र बाबुल गिरीको शब्द तथा नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ रहेको छ । गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

हरिहर अधिकारी निर्माता रहेको फिल्ममा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर छन् । फिल्मको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

कमेन्ट गर्नुहोस्