फिल्म । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरिएको छ । निर्मात्री शर्मिला थापाले ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी हुन् ।
फिल्म निर्माणमा परिवार झैँ भएर काम गरेपछि आफ्नो दायित्व सम्झिएर सहयोग गरेको निर्मात्री थापाले बताइन । उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइदैन, तर छायांकन सकिए लगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद’, उनले भने ।
यसअगाडि फिल्मको निर्माण घोषणा गर्न आयोजना गरिएको समारोहमा पुराना प्राविधिक कमल मिश्रलाई नगदराशिसहित सम्मान गरिएको थियो। विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’बाट भेषभूषा विभाग (ड्रेस म्यान)मा काम सुरु गरेका मिश्रलाई निर्मात्री थापाले नगदराशि ५१ हजार रुपैयाँसहित दोसल्लाह ओढाए संयुक्त रूपमा सम्मान गरेका थिए । क्यान्सर पिडित भएर निको भएपछि ड्रेसम्यान मिश्र पुनः काममा सक्रिए छन् ।
फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।












