अस्ट्रेलियाको बक्सअफिसमा ‘छक्का पञ्जा ५’

फिल्म । नेपाली फिल्मको लागि नेपालपछि राम्रो बजार मानिने अस्ट्रेलियामा केही समय यता बक्सअफिसमै फिल्म प्रदर्शन हुन् थालेका छन् । रेस्टुरेन्ट, सामुदायिक भवन र हल बुकिङ हुँदै नेपाली फिल्म अहिले विदेशी झैँ रेगुलर बक्स अफिसमा प्रदर्शन हुन्छ। अस्ट्रेलियामा ‘महापुरूष’, ‘प्रसाद २’, ‘फर्की फर्की’ लगायतका केही फिल्मले बक्सअफिसमा प्रदर्शन भएवापत देखाएको सभावनाका कारण अब दसैँमा ‘छक्का पञ्जा ५’ पनि यही शैलीमा प्रदर्शन हुने भएको छ ।

अन्य विदेशी फिल्म झैँ प्रदर्शन हुनु नेपाली फिल्मको लागि सुखद रहेको स्थानीय प्रदर्शक शितल गिरीले जानकारी दिए । ‘नेपालमा प्रदर्शन भइरहेकै शैलीमा अस्ट्रेलियामा प्रदर्शन हुँदैछ। यहाँ आफूलाई पायक पर्ने समयमा नेपाली फिल्म पनि हलमा टिकेट लिएर हेर्न सकिन्छ’, प्रदर्शक गिरीले भने ।

त्यसो त केही वर्षयता अस्ट्रेलियामा हलमै फिल्म प्रदर्शन हुने गरेका छन् । तर ती व्यक्तिगत रूपमा हल भाडामा लिएर देखाइने गरिएको थियो । त्यसमा प्रदर्शककै व्यवस्थापनमा फिल्म प्रदर्शन हुन्छ । त्यता सोमा सामान्य भन्दा बढी टिकेटको रकम तोकिएको हुन्छ । ‘प्रख्यात हलिउड र बलिउडका फिल्मसँगै नेपाली फिल्म बक्सअफिसमा प्रदर्शन हुनु हाम्रो लागि गौरवको विषय हो । नेपाली फिल्म कला, संस्कृतिको प्रवर्द्धन गर्न हामी सक्दो मेहनत गरिरहेका छौं’,उनले भने ।

उनले अस्ट्रेलियाको इभेन्ट सिनेमा, होएट्स सिनेमा, युनाइटेड सिनेमा क्रेगीबर्न, युनाइटेड सिनेमा एल्डोराडो लगायतमा फिल्म प्रदर्शन हुने बताए । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् । यसमा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्