‘गाउँ आएको बाटो’ का लागि नेपाल आइन् सङ्गीतकार हाइडी

फिल्म । फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियर तथा प्रदर्शनको लागि सङ्गीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्वध्वनीमा काम गरेकी छन् । फिल्मको एउटा सङ्गीत पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मको गीतमा सङ्गीत भर्न नेपाल आएकी थिइन् ।

फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा सङ्गीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् । फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई सङ्गीतलाई बटुलेकी थिइन् ।

फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । ‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं । यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु,’हाइडीले भनिन्,’म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

नवीन सुब्बा निर्देशित चौथो फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । यसमा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा भनिएको छ । त्यसमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्