फिल्म । निर्देशक चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्मको जापान राइट्स त्यहाँ नेपाली फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्ट ले खरिद गरेको निर्माण पक्षले जनाएको छ । जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठसँग कागजी सम्झौता सम्पन्न भइसकेको निर्देशक चन्द्र पन्तले जानकारी दिए ।
उनका अनुसार जापानअघि नै फिल्मको अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायललगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अन्य मुलुकबाट पनि फिल्मको प्रदर्शन अधिकारका लागि उच्च माग आइरहेको उनले बताए ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको गीत र टिजर सार्वजनिक भएसँगै विदेशमा चर्चा बढेको र त्यसको सकारात्मक प्रभाव अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको निर्माण पक्षको भनाइ छ । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।
अभिमन्यू निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् भने संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ । कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाले गरेका छन् ।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका छन् ।










