इन्फा अवार्ड्स २०२६ : मदनकृष्णलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

फिल्म । इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा ‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल-२०२६)’ शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकको सहभागिता रहेको समारोहमा ‘ऊनको स्विटर’ले सर्वाधिक नौ विधामा अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ ।

इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानलाई जुरी प्यानलका हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापाले तयार पारेको शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि समारोह औपचारिक रूपमा अघि बढेको थियो। समारोहमा नेपाली फिल्म क्षेत्रका अधिकांश लोकप्रिय कलाकार तथा फिल्मकर्मीको उपस्थिति थियो ।

दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। त्यसपछि सांगीतिक, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित अवार्ड वितरण कार्यक्रम अघि बढेको थियो। अघिल्ला दुई संस्करण बेलायतमा आयोजना गरेको इन्फा अवार्डको तेस्रो संस्करण भने काठमाडौंमा आयोजना गरिएको हो।

नवीन चौहान निर्देशित ‘ऊनको स्विटर’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार र उत्कृष्ट पटकथा गरी नौ विधामा अवार्ड जितेको छ ।

फिल्मले उत्कृष्ट फिल्म र निर्देशकसहित अभिनय, संगीत तथा लेखनका प्रमुख विधामा अवार्ड जित्दै समारोहमा आफ्नो प्रभाव जमाएको हो। ‘ऊनको स्विटर’बाट विपिन कार्की र मिरुना मगरले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते ।

फिल्मकै ‘काफ्ले’ गीतबाट झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका तथा ‘फूलहरू’बाट सुजन चापागाईं उत्कृष्ट पार्श्व गायक बने। ‘फूलहरू’कै लागि हर्क साउदले उत्कृष्ट गीतकारको अवार्ड जित्दा नवीन चौहान र सुरजले उत्कृष्ट पटकथाको अवार्ड हात पारे।

उत्कृष्ट अभिनेता विधामा नीर शाह र विपिन कार्की संयुक्त विजेता बनेका छन्। नीर शाहले ‘परान’बाट तथा विपिन कार्कीले ‘ऊनको स्विटर’बाट अवार्ड हात पारे।

उक्त अवार्डको घोषणा अभिनेता राजेश हमालले गरेका थिए। राजेश हमाल, नीर शाह र विपिन कार्की एकैपटक मञ्चमा देखिँदा समारोहमा उनीहरू आकर्षणको केन्द्र बनेका थिए। ‘ऊनको स्विटर’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। फिल्ममा उनको अभिनयलाई दर्शक तथा समीक्षकले समेत रुचाएका थिए।

उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड ‘श्री बुकुरो’बाट लक्ष्मी गिरीले जितिन्। त्यस्तै ‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता घोषित भए। ‘राम नाम सत्य’बाट श्री श्रेष्ठले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जितेका छन्।

‘द ब्लू लाइट’बाट सृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र घोषित भएकी छन्। खलपात्रको भूमिकामा उनले गरेको अभिनयका लागि उनलाई अवार्ड प्रदान गरिएको हो। ‘जेरीः अन टप’ले प्राविधिक तथा अभिनयतर्फ तीन अवार्ड जितेको छ। फिल्मबाट निमेष रेग्मी उत्कृष्ट छायाँकार, निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक तथा आँचल शर्मा उत्कृष्ट सहअभिनेत्री घोषित भए।

‘अभिमन्यू’बाट प्रकाश दाहालले उत्कृष्ट सहअभिनेताको अवार्ड जितेका छन्। ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडी उत्कृष्ट नवअभिनेता घोषित भए। त्यस्तै ‘माइतीघर’बाट श्यामाश्री शेर्पाले उत्कृष्ट नवअभिनेत्रीको अवार्ड जितिन्। ‘द ब्लू लाइट’बाट मोहक श्रेष्ठले उत्कृष्ट पार्श्व संगीतको अवार्ड जितेका छन्। ‘मोहर’को ‘चाहिँदैन मोहर’ गीतबाट रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक घोषित भएका छन्।

समारोहको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। उनलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक तथा निर्देशक टंक भट्टराईलगायतले श्रेष्ठलाई सम्मान गरेका थिए। उक्त अवार्ड ओमेगा इनकर्पोरेशन्सले प्रायोजन गरेको हो।

अभिनेत्री कविता नेपाललाई ‘पर्फमर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ। अभिनेत्री उषा उप्रेतीले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरिन्। त्यस्तै जसिता गुरुङ ‘जेरीः अन टप’बाट लोकप्रिय अभिनेत्री तथा पल शाह लोकप्रिय अभिनेता घोषित भए।

जुरी अवार्डतर्फ ‘रमिताको पिरती’की निर्देशक सुदीप्ता अधिकारी, ‘सिटामोल’बाट सौगात मल्ल तथा ‘गुन्यु चोलो’की निर्देशक समुद्र भट्ट पुरस्कृत भए। त्यस्तै कान्स फिल्म फेस्टिभलमा सफलता हासिल गरेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई विशेष सम्मान गरिएको थियो।

सन्दीप क्षेत्री र ओशिन सिटौलाले सञ्चालन गरेको समारोहमा सांगीतिक, नृत्य तथा हास्यव्यङ्ग्य प्रस्तुतिले दर्शकको ध्यान खिचेको थियो। विशेषगरी सन्दीप क्षेत्रीले वरिष्ठ अभिनेता नीर शाहकै अगाडि उनको भेषभूषामा प्रस्तुत गरेको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। ‘कमेडी दरबार’का कलाकारको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

समारोहमा दीया मास्के, पल शाह, कविता नेपाल, उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पणलगायतका कलाकारले विभिन्न प्रस्तुति दिएका थिए। संगीतकर्मी बाबुल गिरी तथा रिहानको सांगीतिक प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो।

इन्फा अवार्ड्सले नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकको सिर्जनात्मक योगदानलाई सम्मान गर्दै नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा समेत जोड दिँदै आएको आयोजकले जनाएको छ।

यस वर्षको समारोहले स्थापित कलाकारदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई एउटै मञ्चमा सम्मान गर्दै नेपाली फिल्म क्षेत्रको विविधता, सिर्जनशीलता र सम्भावनालाई उजागर गरेको छ। समारोहको आन्तरिक व्यवस्थापनदेखि कार्यक्रमको प्रारम्भ र स्क्रिप्ट लेखनसम्मको जिम्मेवारी इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक आशिष पन्तले सम्हालेका थिए।

कार्यक्रमको अन्त्यमा इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामाले समारोहमा उपस्थित सम्पूर्ण कलाकार, प्राविधिक तथा दर्शकलाई धन्यवाद ज्ञापन गरे। नेपालमा पहिलोपटक इन्फा अवार्ड आयोजना गरी भव्य रूपमा सम्पन्न गर्न पाएकोमा उनले आयोजकका तर्फबाट सबैप्रति आभार व्यक्त गरे।

इन्फा अवार्ड्स नेपाल–२०२६ का विजेता

१. उत्कृष्ट फिल्म: ‘ऊनको स्विटर’

२. उत्कृष्ट निर्देशक: नवीन चौहान – ‘ऊनको स्विटर’

३. उत्कृष्ट अभिनेता: नीर शाह – ‘परान’, विपिन कार्की – ‘ऊनको स्विटर’

४. उत्कृष्ट अभिनेत्री: मिरुना मगर – ‘ऊनको स्विटर’

५. उत्कृष्ट चरित्र अभिनेत्री: लक्ष्मी गिरी – ‘श्री बुकुरो’

६. उत्कृष्ट चरित्र अभिनेता: सन्तोष पन्त – ‘हर्ष’

७. उत्कृष्ट द्वन्द्व निर्देशक: श्री श्रेष्ठ – ‘राम नाम सत्य’

८. उत्कृष्ट खलपात्र: श्रृष्टि श्रेष्ठ – ‘द ब्लू लाइट’

९. उत्कृष्ट छायाकार: निमेष रेग्मी – ‘जेरीः अन टप’

१०. उत्कृष्ट सह–अभिनेता: प्रकाश दाहाल – ‘अभिमन्यू’

११. उत्कृष्ट सह–अभिनेत्री: आँचल शर्मा – ‘जेरीः अन टप’

१२. उत्कृष्ट पार्श्व संगीत: मोहक श्रेष्ठ – ‘द ब्लू लाइट’

१३. उत्कृष्ट नव–अभिनेत्री: श्यामश्री शेर्पा – ‘माइतीघर’

१४. उत्कृष्ट नव–अभिनेता: विमोचन दवाडी – ‘झरीपछिको इन्द्रेणी’

१५. उत्कृष्ट पार्श्व गायिका: झुमा लिम्बु – ‘ऊनको स्विटर’ (‘काफ्ले’)

१६. उत्कृष्ट पार्श्व गायक: सुजन चापागाईं – ‘ऊनको स्विटर’ (‘फूलहरू’)

१७. उत्कृष्ट गीतकार: हर्क साउद – ‘ऊनको स्विटर’ (‘फूलहरू’)

१८. उत्कृष्ट पटकथा: नवीन चौहान र सुरज – ‘ऊनको स्विटर’

१९. उत्कृष्ट सम्पादन: निमेष श्रेष्ठ – ‘जेरीः अन टप’

२०. उत्कृष्ट नृत्य निर्देशक: रामजी लामिछाने – ‘मोहर’ (‘चाहिँदैन मोहर’)

कमेन्ट गर्नुहोस्