ओटीटी । गाईजात्राको रौनक नजिकिँदै गर्दा हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेताहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै नयाँ गाईजात्रे कमेडी कोसेली ‘बालेन सरकार’ ल्याएका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक यो प्रस्तुतिमा भ्रष्टाचार र नेताहरूका गलत कार्यलाई मुख्य विषय बनाइएको छ ।
‘बालेन सरकार’ले पछिल्लो समय बेथिति माथि तिखो व्यङ्ग्य गरेको छ । नव सांसद तथा मन्त्रीहरूको व्यवहार र सामाजिक विकृतिमाथि प्रहार गर्दै दर्शकलाई हास्य-व्यङ्ग्यमार्फत मनोरञ्जन दिने उद्देश्यले यो कोसेली ल्याइएको रिजालले बताए । यो वर्षको प्रस्तुतिमा रिजालले हिट गीत ‘बाबाले सोध्लान् नि, खै छोरा भन्लान्’मा प्यारोडी बनाएका छन् ।
प्यारोडीमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, काङ्ग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अहिलेका मन्त्रीमण्डलका सदस्यहरूको गतिविधिलाई व्यंग्य गरिएको छ । विसं २०६१ देखि नियमित गाईजात्रे कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटंकी’ उनको २३ औँ कोसेली हो । गत वर्ष उनले ‘मिसन नौटंकी’ प्रस्तुत गरेका थिए ।
लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैँले गरेका छन् । गाईजात्रालाई हास्यकलाकारका लागि महत्त्वपूर्ण उत्सव मान्ने रिजालले यो वर्ष पनि दर्शक-स्रोताले आफ्नो कोसेलीलाई माया गर्ने विश्वास व्यक्त गरे ।










