सङ्गीत । नेपाली अभिनेत्री अदिती बुढाथोकीले बलिउडमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने क्रममा अभिनेता जहीर इकबालसँग ‘फरिश्ता’ बोलको नयाँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । भिडियोमा अदिती र जहीरको रोमान्टिक केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ ।
जहीर इकबाल बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान् हुन् । गायक कमल खानको स्वर रहेको ‘फरिश्ता’ गीतको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ। फरहाद साम्जीको निर्देशनमा तयार भएको भिडियोमा समुद्री तटका रमणीय दृश्यबीच जहीर र अदितीको प्रेमिल प्रस्तुति देखाइएको छ।
उत्कृष्ट छायांकन, लोकेसन र प्रस्तुतिका कारण भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। हालसम्म ‘फरिश्ता’ म्युजिक भिडियोलाई १९ लाखभन्दा बढी पटक हेरिएको छ।
अदिती पछिल्लो समय नेपाली फिल्मसँगै भारतीय म्युजिक भिडियोहरूमा पनि निरन्तर सक्रिय छिन्। उनले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’ मार्फत आफ्नो अभिनय क्षमता स्थापित गरिसकेकी छन्। उनले अभिनय गरेका विभिन्न भारतीय म्युजिक भिडियोहरूले युट्युबलगायत डिजिटल प्लेटफर्ममा करोडौँ दर्शकको साथ पाएका छन्।
नेपाली कलाकारका रूपमा बलिउडमा निरन्तर अवसर पाइरहेकी अदितीको जहीर इकबालसँगको यो सहकार्यले अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा उनको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।










