यसकारण रेखाले निर्देशन गरिन् ‘माया भनेकै यस्तो होला’

फिल्म । अभिनेत्री तथा निर्देशक रेखा थापाले प्रेमकथा आफूलाई मनपर्ने विधा भएकैले फिल्म ‘माया भनेकै यस्तो होला’ निर्देशन गरेको बताएकी छन् । उनले फिल्मको विषयवस्तु बलियो रहेकाले निर्देशनमा पुनरागमनका लागि यही फिल्म रोजेको बताइन् । उनका अनुसार फिल्ममा प्रस्तुत गरिएको त्रिकोणात्मक प्रेमकथाले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास छ ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममार्फत रेखाले केही समयपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।

ध्रुव लम्सालको स्क्रिप्ट रहेको फिल्मका निर्माता हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । सुदीप बराल डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत छ। फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी वितरण गर्नेछन्।

कमेन्ट गर्नुहोस्