फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को बेलायत प्रिमियर हुने भएको छ । कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित फिल्मको आउँदो फेब्रुअरी १५ अर्थात् फागुन ३ गते बेलायतको लन्डन अल्डरसटमा प्रिमियर हुँदैछ ।
निर्देशक मिलन चाम्सका अनुसार अल्डरसटमा रहेको एम्पाएर हलमा स्थानीय २ बजे फिल्मको प्रिमियर हुनेछ । ‘कप्तान सुब्बाको जीवनी हामीले कल्पना गर्ने कथा भन्दा कम छैन । साथै अहिले हुने प्रिमियरको उदेश्य कप्तान सुब्बाको घर निर्माणमा गर्नु हो । त्यसकारण हामीले नियमित शो भन्दा अगाडी प्रिमियर गरिरहेका छौँ’, निर्देशक चाम्सले भने ।
यो प्रिमियरमा सहभागी हुनेले मनोरन्जनसँगै सामाजिक कार्यमा पनि सहभागिता जनाउने भएकाले आकर्षण बढ्दो छ । यस शो र सहयोगबाट प्राप्त रकमलाई अञ्जिलाक घर निर्माणमा प्रयोग गरिने बताईएको छ । ‘यो फिल्म हेर्दा समय र पैसा दुबैको सदुपयोग भएको छ’, निर्देशक चाम्सले भने ।
निर्माता प्रेमकुमार श्रेष्ठले बेलायतपछि दक्षिण कोरियामा मार्च २ मा प्रिमियर गरिने जानकारी दिए । कप्तान सुब्बाको धर्म पिता समेत रहेका श्रेष्ठले अञ्जिलाको आफ्नै घर हुनेमा दुइमत नरहेको बताए । फिल्मको प्रिमियरमा निर्देशक चाम्स, निर्माता श्रेष्ठ लगायत सहभागी हुनेछन् ।
फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । नेपालमा फागुन २९ मा प्रदर्शन हुने फिल्मलाई काठमाडौँमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् ।