फिल्म । नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ । बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ । सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शब्द तथा संगीत शिशिर थतालको रहेको छ। यसअघि सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोमा समावेश गरिएको गीतको हुक लाइन दर्शकले रुचाएका थिए।
यसअघि सार्वजनिक भएको फर्स्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलेको थियो। विशेषगरी गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको क्यारेक्टर लुक्सले दर्शकको ध्यान तानेका थिए। फर्स्ट लुकपछि दर्शकले नेपाली फिल्ममा फरक स्वाद, नयाँ प्रस्तुति र पृथक् कथावस्तु हेर्न पाउने अपेक्षा व्यक्त गरेका छन्।
निर्माण टिमले पोस्टर यसअघि नै सार्वजनिक गरिसकेको छ भने अब छिट्टै ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थिम गीत सार्वजनिक भएसँगै फिल्मको प्रचार अभियानलाई थप तीव्र बनाइएको छ।
बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारको अभिनय रहेको छ।
सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले लेखेका हुन्। सुदीप बरालको टोलीले छायांकन गरेको फिल्मको टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ।










