विरगञ्ज आउदै गोविन्दा

फिल्म । बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । एक समय बलिउडमा एकछत्र राज गरेका गोविन्दा नेपाल आइरहन्छन । यसपटक उनि यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

गोविन्दाले कात्तिक २१ गते बिहान विरगञ्ज पुग्ने र आफ्नो प्रस्तुती पनि दिने उनले बताए । गोविन्दाको फ्यान नेपालमा उत्तिकै छन् , त्यसमाथि तराइमा उनका धेरै फ्यान छन् । गोविन्दा पछिल्लो समय राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् ।

‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ लाई कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि कार्यक्रम तीन दिनसम्म चल्नेछ । महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्