फिल्म । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ । निर्माण टिमले मंगलबार दुई थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा कथावाचकका रूपमा चर्चित साइग्रेस पोखरेललाई बाइकको पछाडि बसेर कतै जाँदै गरेको देखाइएको छ। पोस्टरमा उनको हँसिलो प्रस्तुति र कोटको गोजीमा रहेको चलचित्र पत्रकारको प्रेसकार्डले फिल्ममा उनले पत्रकारको भूमिका निर्वाह गरेको संकेत गर्छ। अर्को पोस्टरमा उनी मोबाइलबाट पठाओ बुक गरिरहेको दृश्य पनि समावेश गरिएको छ।
काठमाडौंको जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले फिल्मको कथा मन परेकै कारण आफू यस परियोजनामा आबद्ध भएको बताए । उनले भने, ‘मैले ‘आ बाट आमा’पछि अब फिल्म खेल्दिनँ भन्ने सोचेको थिएँ । तर यो त नशाजस्तै रहेछ । ‘फलानो ढिस्कानो’को कथा मन परेकाले यसमा काम गर्न तयार भएको हुँ।’
निर्माण पक्षले हाल साइग्रेस पोखरेललाई मात्र सार्वजनिक गरेको छ । अन्य कलाकार तथा प्राविधिकबारे जानकारी क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।फिल्मको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार फिल्मको छायांकन आगामी दसैंपछि सुरु गरिने तयारी छ।









