सङ्गीत । हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ । मौलिक नेपाली संस्कृति, माइती-चेलीको आत्मीय सम्बन्ध र तीजको उल्लासलाई समेटिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो । गीत गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतका शब्द तथा संगीत बेलायतमा रहेका पत्रकार, गीतकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतले सिर्जना गरेका हुन् भने स्वर एआई भोकलमार्फत तयार गरिएको छ । ‘यसपालिको तीजमा, चेली माइती साथमा, छम्म छम्म नाचौंला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीजको मौलिकता, माइतीघरको सम्झना, दिदीबहिनीबीचको आत्मीयता र समसामयिक विषयलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
गीतमा तीज पर्वको उल्लास, दर खाने परम्परा, व्रत, नृत्य तथा आधुनिक पुस्ताको जीवनशैलीलाई कलात्मक रूपमा समेटिएको छ । साथै महँगिएको सुनको मूल्य, ‘सेल्फी खिचौंला’ र ‘टिकटक बनाउँला’ जस्ता समसामयिक विषयलाई पनि रोचक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा बिनिता बस्नेतको अभिनय रहेको छ । भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पशुपति सुनारले गरेका छन् भने कोरियोग्राफी सन्ध्या रसाइलीको रहेको छ । बिनिता बस्नेतले दर्शक-श्रोताबाट राम्रो साथ र माया पाएमा युट्युबबाट प्राप्त आम्दानी असहाय तथा विपन्न समुदायको सहयोगमा खर्च गरिने बताएकी छन् ।
गीतकार नरेन्द्र बस्नेतले यसअघि पत्रकारितामाथि आधारित ‘पत्रकार पत्रकार, हामी पत्रकार’ तथा क्षेत्री समाज बेलायतको आधिकारिक थीम गीत ‘हामी क्षेत्री’ सार्वजनिक गरिसकेका छन्। आगामी तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘छम्म छम्म नाचौंला’ले नेपालसहित विश्वभर रहेका नेपाली समुदायमा तीजको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।









