‘द लिटिल शाइनिङ स्टार – २०८३’ सम्पन्न

सौन्दर्य । क्लासिक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको बाल प्रतिभा प्रतियोगिता ‘द लिटिल शाइनिङ स्टार-२०८३’ को भव्य फिनाले ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न भएको छ । विभिन्न विद्यालयका बालबालिकाको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा जेभियर इन्टरनेशनल स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहका दुवै मुख्य उपाधि जित्न सफल भएको छ।

सिनियर समूहतर्फ जेभियर इन्टरनेशनल स्कुलका उत्सव निरौला ‘बोइज विनर’ तथा एन्जेलिका कार्की ‘गर्ल्स विनर’ घोषित भए । जेभियरका विद्यार्थीले मुख्य उपाधिसँगै अन्य विभिन्न विधामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जुनियर समूहतर्फ एलिट ग्रान्ड स्कुलका निओन तामाङ ‘बोइज विनर’ तथा टेक्सास इन्टरनेसनल स्कुलकी डीभिजा रिमाल ‘गर्ल्स विनर’ घोषित भए । किड्स समूहको उपाधि भने सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलकी आहाना गौतमले जितिन् ।

मोस्ट पपुलर अवार्डतर्फ देवान्श धनाजी भोसले (बोइज) र दिक्षिता लुइँटेल (गर्ल्स) विजेता बने। त्यसैगरी, भ्यूअर्स च्वाइस अवार्डमा देवान्श धनाजी भोसले (बोइज) र जेभियर इन्टरनेशनल स्कुलकी इभाना गौतम (गर्ल्स) विजेता घोषित भए।

कार्यक्रमकी आयोजक दीपा थानी, इभेन्ट म्यानेजर दीपराज पाण्डे, कोरियोग्राफर लभिन अन्सारी तथा सह-कोरियोग्राफर माला रानी खरेल रहेका थिए ।प्रतियोगिताको निर्णायक मण्डलमा मोडल तथा अभिनेता रोहन श्रेष्ठ, विभा बस्नेत, रुथ सिवाकोटी र नारायण पोखरेल रहेका थिए। उनीहरूले प्रतियोगीको व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति, स्टेज प्रदर्शन तथा समग्र प्रतिभाका आधारमा विजेता छनोट गरेका थिए।

बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘द लिटिल शाइनिङ स्टार-२०८३’ ले विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्