फिल्म । हास्यव्यङ्ग्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’ को शुभमुहूर्त सम्पन्न भएको छ । होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको वैदिक विधिअनुसार पूजा गर्दै औपचारिक शुभारम्भ गरिएको हो । निर्माण टिमका अनुसार फिल्मको छायांकन असार २९ गतेदेखि सुरु हुनेछ । आभास अधिकारीको कथा तथा कन्सेप्टमा बन्न लागेको फिल्मको निर्देशन समीरले गर्नेछन् ।
शुभमुहूर्त कार्यक्रममा निर्देशक समीरले ‘तिरिमिरी झ्याइँ’ ले सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने र विशुद्ध पारिवारिक हास्य मनोरञ्जन प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । निर्माता प्रद्युम्न बोगटी (प्रविन) ले उत्कृष्ट पारिवारिक कमेडी फिल्म निर्माण गर्ने उद्देश्यका साथ आफूहरू अघि बढेको बताए । फिल्मका कथाकार तथा कार्यकारी निर्माता आभास अधिकारीले समाजमा भइरहेका रमाइला र ठट्यौली घटनालाई पर्दामा उतार्ने प्रयास गरिएको जानकारी दिए ।
यसै फिल्मबाट ‘दले दाइ’ का नामले परिचित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यू गर्दैछन् । फिल्ममा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ ।
फिल्ममा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत, तथा गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको पटकथा तथा संवाद रहनेछ । करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
त्यसैगरी प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टाइल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ । फिल्मका सह-निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन् ।









