देश । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘PWXM: Wrestle Castle’ आयोजना हुने भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विश्वप्रसिद्ध जापानी व्यावसायिक रेस्लर तथा WWE Hall of Famer तात्सुमी फुजिनामी नेपाल आउने भएका छन् । विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ क्षेत्रमा ऐतिहासिक अवसर सिर्जना गर्ने आयोजकको विश्वास छ।
खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिने यो भव्य कार्यक्रम २०८३ साल असार २० गते (शनिबार) दिउँसो २ बजेदेखि ललितपुरस्थित नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ। कार्यक्रममा चर्चित र्याप कलाकार डीबी यो म्याजेस्टी, भी-लेन ३९ तथा लोकप्रिय गायक कुहाङको सांगीतिक प्रस्तुति पनि रहनेछ।
फुजिनामीसँगै जापानबाट लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवा पनि कार्यक्रममा सहभागी हुनेछन्। उनीहरूले नेपाली रेस्लरहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो कला प्रदर्शन गर्नेछन्।
नेपालका तर्फबाट व्यावसायिक रेस्लिङका अग्रणी प्रशिक्षक हिमालयन टाइगरको मार्गदर्शनमा तयार भएको टोलीले प्रतिस्पर्धा गर्नेछ। टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन्। यसका साथै अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ पनि नेपाली टोलीबाट प्रतिस्पर्धामा उत्रिनेछन्।
पिग ई प्रोडक्सनको प्रस्तुतिमा आयोजना हुन लागेको ‘PWXM: Wrestle Castle’ को सह–आयोजक नखिपोट युथ क्लब रहेको छ। कार्यक्रमको निर्देशन तकाशी ताकेइ (टक बिष्ट) ले गरिरहेका छन्।
आयोजकका अनुसार ‘PWXM: Wrestle Castle’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान पनि हो।
यस कार्यक्रममार्फत नेपाल र जापानबीच सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने, नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउने, नयाँ प्रतिभा उत्पादन गर्ने तथा नेपाली दर्शकलाई विश्वस्तरीय रेस्लिङ र मनोरञ्जनको अनुभव प्रदान गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।









