फिल्म । कास्की जिल्लाको पामे लगायतको क्षेत्रमा गत आइतबारदेखि नेपाली फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन सुरु भएको छ । ४० दिनको छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको ३० दिनको छायांकन गण्डकी प्रदेशको कास्कीमा गरिनेछ भने बाँकी दृश्यहरू काठमाडौंलगायत अन्य स्थानमा खिचिनेछन्। कास्कीको पोखरा तथा आसपासका पामे, सराङकोट, निरभानेलगायतका क्षेत्रमा फिल्मको छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले जानकारी दिए।
उनका अनुसार कास्कीका विभिन्न आकर्षक लोकेसनहरूले फिल्मको कथालाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्। भविष्य फिल्म्स प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता भविष्य खड्का हुन्। निर्माण टिमले यसअघि नै फिल्मलाई तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याइने घोषणा गरिसकेको छ।
शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिला प्रधान कथावस्तुमा आधारित भनिएको छ। फिल्ममा आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।
फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको प्रमुख अभिनय रहनेछ। ‘टिका’मा नरेन्द्र मैनालीको छायांकन रहेको छ।
फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा) ले सम्हालेका छन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ।










