‘श्रीमान् होस् त काजी जस्तो’

फिल्म । गत शुक्रबार जेठ ८ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

दर्शकले फिल्ममा काजी र कजिनीको प्रेमकथालाई रुचाएका छन् । ‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिईरहेका छन् । दर्शकबाट त्यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिनुभएको अभिनेता विपिन कार्कीले बताए ।

उनले भने, ‘म शुक्रबार काठमाडौँमा रहेका प्राय हलमा पुगे, जहाँ पनि दर्शक भावनात्मक हुनुभएको पाएँ । कत्तिले हामीलाई काजी जस्तै श्रीमान् चाहियो पनि भन्नुभयो, केहीले श्रीमान् त काजी जस्तो हुनुपर्छ पनि भन्नुभयो । हामीले एउटा मनछुने प्रेमकथा दर्शकसामु ल्याएका छौँ, जातिले हेर्नुहुन्छ, पक्कै अन्य दर्शकलाई सिफारिस गर्नुहुनेछ ।’

उनले शनिवार पनि विहानदेखि नै काठमाडौँका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको बताए । फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।

उनले भने, ‘काजी हेरेर निस्किएका दर्शकले दिनुभएको प्रतिक्रियाले म ढुक्क भएँ । मैले पर्दामा जे देखाएको थिएँ, दर्शकले त्यसलाई बुझ्नुभयो । यो फिल्म हेरेपछि काजीजस्तै श्रीमान् वा प्रेमी होस् भन्ने कामना धेरैले गर्नुहुनेछ, किनकि काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ।’

अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको पटकथा प्रदीप भारद्वाज ले लेखेका हुन्। फिल्ममा चिन्तन राजभण्डारीको छायांकन निर्देशन, कालीप्रसाद बास्कोटा को संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराज को नृत्य निर्देशन रहेको छ। फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन्। ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गरिरहेको छ।

कमेन्ट गर्नुहोस्