फिल्म । आगामी वैशाख २६ (मे ९) गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि फेरीटेल पिक्चर्सले बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिजसँगै फिल्मको प्रचार थालनी गरेको हो ।
यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति फिल्मको ट्रेलरमा चित्रण गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। ‘जार’को कथालाई अन्याय हुन दिएका छैनौं, लामाले भने किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ‘जार’ तयार गरेका छौं ।’
अभिनेताद्वय सौगात र अनुपबिक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए । फिल्म ‘जार’को शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।










