प्रदीपको जोडी चुम

फिल्म । भारतीय अभिनेत्री चुम दरङले नेपाली फिल्ममा पाइला राख्ने भएकी छन् । भारतीय फिल्म ‘गंगुबाई कठियावाडी’ र टिभी रियालिटी शो ‘बिग बोस’ सिजन १८ मार्फत चर्चा कमाएकी चुमले अब अभिनेता प्रदीप खड्कासँग नेपाली फिल्म ‘ऐरी’ मा अभिनय गर्दैछिन् । एक्सन तथा प्रेम कहानीमा आधारित ‘ऐरी’ दुई सातामा छायांकनमा जाने तयारीमा रहेको छ । हाल फिल्मको कार्यशालामा सहभागी हुन चुम काठमाडौं आइपुगेकी छिन् र नेपाली भाषा र संवाद सिकिरहेकी छिन् । फिल्ममा मुख्य खलपात्रको भूमिकामा भने भुटानी अभिनेता सांगे सेल्ट्रिम देखिनेछन् । उनले बलिउड फिल्ममा काम गरेका छन् । निर्देशक जीवन थापा र अभिनेता सांगेबीच यसै वैशाखमा फिल्मको लागि लिखित सहमति भइसकेको छ । फिल्मको छायांकन काठमाडौं, बागलुङको ढोरपाटन र भारतका विभिन्न स्थानमा हुनेछ । तीन महिनासम्म चल्ने छायांकनपछि आठ महिनाको पोस्ट प्रोडक्सनमा विशेष गरी भीएफएक्सको काम हुने भएकाले निर्माण पूरा हुन करिब एक वर्ष लाग्नेछ ।

‘ऐरी’ लाई निर्देशक थापाको कम्पनी मल्टिमेटले भारतीय वितरकको सहकार्यमा निर्माण गर्दैछ । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म केही क्षेत्रीय भाषामा पनि डब हुने जनाइएको छ । फिल्ममा प्रदीप, चुम र साङ्गेसँगै सुनिल थापाको पनि अभिनय रहने छ।

चुम दरङको करियरको कुरा गर्दा, उनले अमेजन प्राइमको क्राइम थ्रिलर ‘पाताल लोक’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले ‘बधाई दो’ मा भूमि पेडनेकरसँग अभिनय गरेकी थिइन् भने ‘गंगुबाई कठियाबाडी’ मा आलिया भट्टसँग देखिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्