फिल्म । केहि समय यता रुकुम घटनाल़िया लिएर चर्चा हुने गरेको छ । प्रेम सम्बन्धलाई लिएर नवराज विकसँगै उनका साथीले ज्यान गुमाउनु परेकोमा अपराधीलाई कारवाहीको मांग भइरहेको छ । यसै विषयलाई लिएर अभिनेता राजेश हमालले आफ्नो विचार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै हमाले ,’निच विचारधारा बोकेको व्यक्तिलेमात्रै यस्तो अपराध गर्नसक्ने’ बताएका छन् ।
‘नवराज विश्वकर्मा र उहाँको समुदायमाथि भएको अपराधिक घटनाले खाली स्तब्ध र दुखितमात्रै बनाएको छैन, एक हिसाबले हामी सबैलाई आक्रोशित पनि बनाएको छ,’ हमालले भिडियोमा भनेका छन् ,’अवश्य पनि यस्तो किसिमको आक्रोश लाभदायक हुँदैन र फलदायक हुँदैन । यसले समाजलाई झनै विचलित र विभाजित गर्छ ।’
उनले भिडियोमा एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा समुदायले अर्को समुदायलाई उसको जातको आधारमा, पृष्ठभूमिको आधारमा, उसको थर या पेशाको आधारमा अपमान गर्ने, गाली गलौज गर्ने, आपराधिक गतिविधिमा उत्रिने या उसको मानवतामा ठेस पुर्याउने किसिमको व्यवहार गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् । अहिलेको समयमा चेतनशील नेपाली नागरिकका लागि यस्तो किसिमको गतिविधि स्वीकार्य नहुने उनको धारणा छ । समुदायमा देखिने जातीय भेदभावको पकड कहालीलाग्दो रहेको बताउँदै उनले यस्तो व्यवहारलाई निरन्तरता दिएमा प्रगति गर्न गाह्रो हुने बताए ।










