
फिल्म । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि पुनः ठूलो पर्दामा फर्किएका छन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ आज शुक्रबारदेखि नेपालभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । वितरकले दिएको जानकारी अनुसार पहिलो दिन फिल्मले दर्शकको साथ पाएको छ । अर्थात् दर्शकले आफ्नो ‘महानायक’ लाई न्यानो स्वागत गरेका छन् ।
आफूलाई सुहाउँदो र अनुकूल भूमिका पाएकाले नै अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताएका छन् । विगतका वर्षहरूमा चित्तबुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट पार्दै हमालले आफ्ना अघिल्ला दुई फिल्म ‘वाग्मती’ र ‘सकुन्तला’ को असफलतापछि फिल्मभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजन कार्यक्रममा व्यस्त भएको स्वीकारे ।
‘कथावस्तु मन परेर अभिनय गरेका फिल्म प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइनँ । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । त्यसबेला मैले एउटा फिल्मका लागि समय दिन सक्ने अवस्था पनि भएन, सोही कारण मेरो ग्याप देखियो’, अभिनेता हमालले भने ।
उनी यसपटक पनि फिल्म गर्ने मनस्थितिमा थिएनन्, किनकि उनलाई सङ्ख्यात्मक वृद्धि चाहिएको थिएन । यद्यपि निर्देशक दिवाकर भट्टराईले सुनाएको पटकथामा अभिनेता हमाल ‘कमब्याक’ गर्न सहमत भए ।
‘यो समयमा मैले यस्तो किसिमको भूमिका गर्दा उपयुक्त हुन्छ भन्ने लागेर पुनः ठूलो पर्दामा फर्किएको हुँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया पनि सकारात्मक पाएको छु’, अभिनेता हमालले भने ।

निर्देशक भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः फिल्मको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । ‘नरसिंहा अवतार’मा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।