फिल्म । बलिउडमा लभ स्टोरी र फ्याम्ली ड्रामा जनरका फिल्म निर्देशकको ट्याग पाएका करण जोहर ५ वर्षपछी निर्देशनमा आउने भएका छन् । उनको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनले करणको निर्देशनमा बन्ने फिल्मको घोषणा गरेको छ । ५ बर्ष अगाडि ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले विश्राम लिईरहेका थिए । उनको निर्देशनमा तयार हुने नयाँ फिल्मको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ राखिएको छ ।
यसमा शिर्ष भूमिका रणवीर सिंह र आलिया भट्टले निर्वाह गर्नेछन् । करण क्याम्पका कलाकार भनेर चिनिने रणवीर र आलियाले यसअघि नै सुपरहिट फिल्म ‘गल्ली ब्वाई’ मा काम गरिसकेका छन् । यो यी दुइको दोस्रो सहकार्य हुनेछ । करणले सामाजिक सञ्जालमा आफ्नै यात्रामा फर्किएको जनाएका छन् । केही बर्षपछि म फेरि आफ्नै यात्रामा फर्किएको छु । मेरो प्रिय ठाउँ, जहाँ प्रेमका कुरा हुनेछन् । यो एक विशेष प्रेम कथा हो । जसमा पारिवारिक र प्रेमको कुरा भनिनेछ ’ उनले उल्लेख गरेका छन् । (एजेन्सी)










