‘मुम्बई फिल्म फेस्टिभल’ मा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति

फिल्म । मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति देखिएको छ । सोमबार सार्वजनिक लाइनअपमा नेपाली निर्माता/निर्देशकको संलग्नता रहेका करिब आधा दर्जन फिल्म फेस्टिभलमा छनौट भएका छन् ।

फेस्टिभल फेवरेट मानिएको नविन सुब्बाको ‘गाउँ आएको बाटो’ क्यानडाको टोरन्टो फिल्म फेस्टिभल र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलपछि छिमेकी देशमा आइपुगेको छ । वर्ल्ड प्रिमियर र एसिया प्रिमियरपछि फिल्म साउथ एसिया प्रिमियरका लागि मामी भनिने मुम्बई फिल्म फेस्टिभल पुगेको छ ।

गाउँमा आएको विकासका कारण प्रभावित हुने एउटा राई परिवारको कथा प्रस्तुत गर्ने फिल्म आइकन साउथ एसिया अन्तर्गतको विधामा छनौट भएको छ । योबाहेक आइसफल प्रडक्सनको सहभागिता रहेका दुई नेपाली फिल्म पनि यो पटकको संस्करणमा छानिएका छन् । आइसफलले भारत र श्रीलंकाका फिल्मकर्मीसँग मिलेर बनाएका फिल्म ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने साउथ एसिया कम्पिटिसनमा प्रतिस्पर्धामा रहेका छन् ।

यही विधामा नेपाल र भारतको सहकार्य रहेको ‘बहादुर : द ब्रेभ’ पनि परेको छ । यो फिल्मलाई दिवा शाहले निर्देशन गरेका हुन् ।फिचर फिल्मबाहेक यो संस्करणमा नेपाली सर्ट फिल्मले फेस्टिभलमा ठाउँ पाएका छन् ।

सार्वजनिक लाइनअप अनुसार विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि फेस्टिभलमा छनौट भएका छन् । यी तीनै फिल्मको वल्र्ड प्रिमियर हुनेछ भने तीनवटै सर्ट फिल्म हुन् । ‘चिसो घर’लाई सिमल सिनेमाले निर्माण गरेको हो भने बाँकी दुई फिल्म भने युएई र अमेरिकाको सहकार्यम ाबनेका हुन् ।

कमेन्ट गर्नुहोस्