चौधरीद्वारा फिल्म ‘झरीपछिको इन्द्रेणी’को खुलेर प्रशंसा

फिल्म । उद्योगी विनोद चौधरीले नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को खुलेर प्रशंसा गरेका छन् । फिल्मले सुरुदेखि अन्तिमसम्म दर्शकलाई बाँधेर राख्ने क्षमता राखेको उनले बताए । इमानदार कर्मचारी कसरी भ्रष्टाचारको फन्दामा पर्न सक्छ, भ्रष्टाचार नियन्त्रण कसरी सम्भव हुन्छ भन्ने जस्ता महत्वपूर्ण विषय फिल्मले उठाएको भन्दै चौधरीले तारिफ गरे ।

‘यसमा जसरी जेनजी पुस्तालाई प्रस्तुत गरिएको छ, त्यो नै वास्तविक जेनजी हो भन्ने कुरा व्यापक रूपमा स्थापित गर्नुपर्छ,’ उनले भने, ‘कताकता जेनजीको आन्दोलनलाई विथोल्ने प्रयास पनि भए, त्यसको पीडित म आफैँ हुँ ।’

फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्दा आफू संलग्न भएको पुरानो फिल्म ‘बासुदेव’को सम्झना आएको चौधरीले बताए । ‘हामीमा विदेश गएकै राम्रो, विदेशमै सबै सम्भावना छन् भन्ने मानसिकता छ । तर, घरमै बसेर पनि धेरै गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिएको छ,’ उनले भने, ‘धेरै विषय समेटिएको छ। हरेक कलाकारको अभिनय मन परेको छ ।’

भविष्यमा आफूले पनि फिल्म निर्माण गर्ने सम्भावना रहेको उनले बताए । आफूले यसअघि पनि फिल्म बनाइसकेको र एकपटक फिल्म बनाएपछि त्यसप्रति सधैँ माया रहने उनको भनाइ छ । फिल्म क्षेत्र कर्पोरेटाइज हुनुपर्ने धारणा आफूले सधैँ राख्दै आएको पनि उनले बताए ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक अर्जुन घिमिरेको कथामा बनेको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गरेका छन् । डेब्यु अभिनेता विमोचनको अभिनयको दर्शकले प्रशंसा गरिरहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि फिल्ममा देखिएका छन् ।

फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायांकन बुद्ध थापाले गरेका छन्।

कमेन्ट गर्नुहोस्