फिल्म । नेपाली फिल्म ‘काजी’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व बुझाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल ले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए।
उनले भने, ‘काजी गाउँको मुखिया वा ठूलाबडाको विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित फिल्म हो । यो फिल्म हेरेपछि काजीजस्तै श्रीमान् वा प्रेमी होस् भन्ने कामना धेरैले गर्नुहुनेछ, किनकि काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ।’
फिल्ममा ‘काजी’को भूमिका निर्वाह गरेका अभिनेता विपिन कार्की ले ‘रोमियो एन्ड जुलियट’ र मुना मदन जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथात्मक फिल्म ‘काजी’ बनेको बताए ।
उनले भने, ‘काजीको प्रेम, वाह यस्तो प्रेम! दर्शकले फिल्म हेरेपछि भन्नुहुनेछ। म आफैं धेरै समयपछि आफ्नो फिल्मलाई लिएर विश्वस्त भएको हुँ। यसपटक दर्शकले नै फिल्मको प्रचार गर्नुहुनेछ। यो प्रेमिल जोडीको निःस्वार्थ प्रेमको कथा हो। नयाँ पुस्तालाई ‘काजी’ले प्रेमको महत्व, समर्पण र सामीप्यसँग परिचित गराउँछ।’
अभिनेत्री केकी अधिकारी ले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्। फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको पटकथा प्रदीप भारद्वाज ले लेखेका हुन्। फिल्ममा चिन्तन राजभण्डारीको छायांकन निर्देशन, कालीप्रसाद बास्कोटा को संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराज को नृत्य निर्देशन रहेको छ। फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन्। ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गरिरहेको छ।












