दर्शकले मन पराए ‘मितज्यु’ ट्रेलर

फिल्म । ‘मितज्यु’ को ट्रेलरले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हाल ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुग्न सफल भएको छ । सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । समाचार तयार पार्दासम्म ट्रेलरलाई १० लाख २७ हजारभन्दा बढी पटक हेरिएको छ भने सयौँ दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर को मुख्य भूमिका रहेको छ । विशेषगरी डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगरले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी हुन् । दर्शकले उनको अभिनयलाई प्राकृतिक र प्रभावशाली भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् ।

फिल्मले नेपाली समाजमा हराउँदै गएको मितेरी साइनोको मौलिक कथालाई प्रस्तुत गरेको छ । गाउँमा नयाँ सडक पुगेपछि गाडी चालकहरूबीच हुने प्रतिस्पर्धा, झगडा तथा दुई मित दयाहाङ र सौगातबीचको सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्ममा दयाहाङ, सौगात र तेरियासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा तथा खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको एक गीतमा रुषा न्यौपाने को विशेष नृत्य समावेश गरिएको छ । श्रीकृष्ण बम मल्ल को संगीत रहेको फिल्ममा शिशिर विशंखे को छायांकन तथा लोकेश बज्राचार्य को सम्पादन रहेको छ । आरआर फिल्म्स ले वितरण गर्ने फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्