
फिल्म । नेपाली फिल्ममा ‘आइएम सरी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश राउतले प्रेम कथानकलाई प्रस्तुत गर्ने शैलीमार्फत सबैको ध्यान तान्न सफल भए । गीतसङ्गीतको छनौट र प्रेम कथानकको प्रस्तुतीकरणले चर्चामा आएका निर्देशक राउतले त्यसपछि ‘नोभेम्बर रेन’,‘क्लासिक’ जस्ता प्रेम कथामा आधारित फिल्म निर्देशन गरेपछि थ्रीलर फिल्म ‘पर्व’ मार्फत विधा परिवर्तन गरे । त्यसपछि ‘प्रसाद’ र ‘प्रकाश’ निर्देशन गरेर सामाजिक विषयलाई पर्दामा ल्याईरहेका छन् ।
निर्देशक राउत यसलाई आफ्नो सोचाई र बुझाईको ‘ग्रोथ’ भन्छन् । उनले फिल्मकर्मीले आफ्नो चासो र मन लागेको विषयमा फिल्म तयार गर्ने गरेको बताए । ‘म कुन खालका फिल्म रुचाउँछु भन्ने कुराले पनि निर्देशित गर्ने रहेछ । मलाई सुरुको चरणमा रोमान्टिक प्रेमकथाका फिल्म हेर्न मनपर्थ्यो । त्यसकारण मैले त्यस्तै विषयलाई दर्शकसम्म ल्याए । अहिले ती फिल्म आफैँलाई हेर्न रुचि छैन भने बनाउन कसरी रुचिकर हुनसक्छ ? त्यसैले मैले सामाजिक विषयलाई ल्याएको हुँ’, निर्देशक राउतले भने ।
उनले भन्ने शैलीमा परिवर्तन ल्याएको बताए । भावनाका कुरालाई फरक किसिमले चित्रण गरिएको उनको भनाइ छ । हिजोको दिनमा केटा-केटीको सम्बन्धको प्रेमको भावनाको कुरा आउँथे भने आजको दिनमा श्रीमान् श्रीमती, आमा छोरा बीचको भावनाको कुरा ल्याएको उनले बताए ।
‘हामीले यसपटक जात नै हुँदैन भन्ने भावना फिल्ममार्फत व्यक्त गरेका छौँ । मिश्रित समाज नै नेपालको सुन्दरता हो भन्ने भावनालाई फिल्मले व्यक्त गर्छ । यो फिल्म भन्दा मथिरहेर विभेदको कथा भन्ने ठाउँ मैले देखेको छैन’, निर्देशक राउतले भने ।
प्रदीप खड्कालाई ‘प्रकाश’ मा परिवर्तन गरेका निर्देशक राउतले ‘पूजार सार्की’ मा आर्यन सिग्देल र पल शाहलाई पनि नयाँ रुपमा प्रस्तुत गर्दैछन् । चकलेटी हिरोको ट्याग पाएका तीन अभिनेतालाई सामाजिक विषयमा बनेको फिल्ममा गाउँले परिवेशमा उतार्नु आफैँमा चुनौतीपूर्ण छ । निर्देशक राउत भने उनीहरूमा देखिएको क्षमताअनुसार नै कास्ट गरेको बताउछन् ।

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पूजार सार्की’ मा तीन स्टारसँगै अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।
प्राय रोमान्टिक जनराको फिल्ममा देखिदै आइरहेका तीनै अभिनेता यसपटक ग्रामिण भेगको पात्रमा देखिएका छन् । निर्देशक दिनेश राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । विकास सुवेदीको लेखन रहेको फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।
