फिल्म । निर्माणको समयदेखि नै विपिन कार्की र मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’ चर्चामा छ । निर्माण कम्पनि आर्टमाण्डू प्रा.लि.ले ल्याएका सिर्जना र निर्देशन नवीन चौहानको काम कै कारण चर्चा रहेको फिल्ममा अभिनेता विपिन नयाँ लुक्समा देखिएका छन् । निर्माण पक्षले ‘मखमली’ बोल रहेको गीतको टिजर सार्वजनिक गरेको छ, जहाँ अघिल्ला दृश्य भन्दा विपिन फरक देखिएका छन् ।
उनको यो लुक्स गीतमा मात्र सिमित छ कि अन्य दृश्यमा पनि छ ? यसबारे निर्माण पक्षले केही बताएको छैन । यद्यपि गीतको टिजरले नै दर्शकको ध्यान तान्न सफल भएको छ । आउँदो वर्ष विसं २०८२ सालको वैशाख २६ गते रिलिज हुने फिल्ममा विपिन र मिरुनासँगै नाट्यकर्मी सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
फिल्मको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ । यसको सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् ।फिल्ममा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र डिप गुरुङले गरेका छन् । यसको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।
फिल्मको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।