हरिवंशलाई लिएर ‘चिरञ्जीवी भव’ निर्माण घोषणा

फिल्म । नेपाली फिल्म ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक शुभारम्भ गरेको हो । निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा ललितपुरस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त कार्यक्रममा कलाकार हरिवंश आचार्यले पहिलो सट दिएका थिए । निर्माण पक्षका अनुसार उनको पहिलो दृश्यले फिल्मको शीर्षकको अर्थलाई समेत स्पष्ट पार्नेछ ।

कार्यक्रममा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी लगायत कलाकारको उपस्थिति रहेको थियो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सन को प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन जेठ १५ गतेदेखि सुरु गरिनेछ । निर्माण टिमले ४५ दिनको छायांकन तालिका तय गरेको जनाएको छ । फिल्मको सुटिङ धनकुटा, सुनसरी र काठमाडौंमा गरिनेछ ।

फिल्म आगामी माघ १ गते प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ । गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका हुन् । फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी, हरिस निरौला, सुमन कार्की र सुस्मिता कुँवर लगायत कलाकारको मुख्य भूमिका रहनेछ ।

फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन् भने पटकथा लेखनमा सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । सामाजिक कथावस्तुमा आधारित फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धलाई मुख्य विषय बनाउने निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता उमेशकुमार बराल हुन् भने कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्