संगीत । नेपाली गीतसंगीतमा गायक, संगीतकार, एरेन्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । विज्ञापन निर्देशन र निर्माणमा समेत सक्रिय रहेका जेस्मले सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ दर्शक समक्ष ल्याएका छन् । गत शुक्रबार काठमाडौँमा आयोजित समरोहका बीच प्रिमियर गरिएको सर्ट फिल्मलाई उनले गीतमा समेत प्रस्तुत गरेका छन् ।
एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले उपस्थित निम्तालुबाट तारिफ बटुले । नेपाली सौन्दर्यको क्षेत्रमा आफूलाई अब्बल सावित गरेका कोरियोग्राफर प्रशान्त ताम्राकार केही वर्ष यता सशक्त अभिनेताको रुपमा समेत परिचित छन् । उनै प्रशान्तले जेम्सको काम हेरेपछि ‘अभिनय’ गर्ने इच्छा व्यक्त गरे ।
‘जेम्सले राम्रो काम गरेका छन् । उनको स्वर झैँ काम पनि प्रिय लाग्छ । म एउटा कलाकार भएकोले उनको निर्देशनमा बन्ने फिल्ममा देखिनचाहन्छु’, प्रशान्तले भने । उनले निर्देशकीय पक्ष र कलाकारलाई प्रस्तुत गर्ने शैलीको समेत तारिफ गरेका थिए । जेम्सले सोही समारोहमा आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत गरे ।
इन्टरनेटका माध्यमले आफूले सिकेको सीप प्रयोग गरेर निर्देशक बनेको जानकारी दिदै उनले कागजमा धेरै पटक लेखिएको कथा मध्ये एकलाई पर्दामा ल्याउन सफल भएको बताए ।
गायिका आनी छोइङ डोल्माले फिल्म निर्देश सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको हो। ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन। यसलाई त्यसकै सुरुआतका रुपमा समेत बुझ्न सकिन्छु’,जेम्सले भने ।












