फिल्म । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा अभिनेता सबिन श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई निर्देशक तथा निर्माता पन्तले फिल्मको एक प्रमुख भूमिकाका लागि अनुबन्ध गरेका हुन् । यसअघि नै फिल्ममा पल शाह, विपना थापा र आकाश श्रेष्ठलगायत कलाकार अनुबन्ध भइसकेका छन् । फिल्मको शुभमुहूर्त पनि सम्पन्न भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा पूजाअर्चना गर्दै फिल्मको औपचारिक सुरुवात गरेको थियो ।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ सुपरहिट बनेको थियो । सोही फिल्मको सिक्वेलका रूपमा ‘आ बाट आमा २’ निर्माण हुन लागेको हो । फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट र नरेन खड्कालगायत कलाकारको अभिनय रहनेछ । अभिनेत्रीको नाम भने निर्माण टिमले हालसम्म सार्वजनिक गरेको छैन ।
आगामी दसैंमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण अघि बढाइएको फिल्म केही सातापछि छायांकनमा जाने तयारीमा छ । फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ । आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।












