‘गौँथली’ले बनायो नयाँ रेकर्ड

फिल्म । कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’को तथ्यांकअनुसार प्रदर्शनको २८औँ दिनसम्म फिल्मले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म ‘गौँथली’लाई ७ लाख ९० हजार दर्शकले हेरेका छन् । योसँगै फिल्मले यसअघि दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा रहेको ‘कबड्डी ४’को रेकर्ड तोडेको हो। ‘कबड्डी ४’ले २१ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो।

सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड भने ‘पूर्णबहादुरको सारंगी’को नाममा छ। उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको तथ्यांकमा उल्लेख छ। डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

कमेन्ट गर्नुहोस्