फिल्म । ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि बाल–गायक प्रेम परियार चर्चामा आए । फिल्म ‘नाई नभन्नु ल २’ मा समावेश यसगीतलाई दर्शक तथा श्रोताले उत्तिकै रुचाए । सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकासराज आचार्य र संगीतकार बसन्त सापकोटाले फिल्मको लागि अवसर दिएका थिए । त्यो अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्दै उनले आफ्नो स्वरको जादु दर्शकमाझ छरे । उनलाई पहिलो गीतबाट नै सबैले चिने । तर , त्यसपछि प्रेम हराए । उमेर बढेसंगै उनको स्वरमा परिवर्तन आएको कारण उनि ‘नाइँ नभन्नु ल’ सिरिजमै आवाज दिन पाएनन् ।
यिनै प्रेमले ‘नाई नभन्नु ल ४’ पछि चलचित्र ‘पोई पर्यो काले’मा स्वर दिएका छन् । यसमा समावेश ‘मायाले मलाई’ बोलको गीतको रेकडिङ आज गरिएको छ । गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीतमा आवाज नदिएको बताए । ‘गीतको संगीत र शब्द मलाइ मन परेको छ’ प्रेमले कुराकानी गर्दै भने ‘ आश छ मेरो गीतको प्रतिक्षामा रहनु भएका दर्शकको चाहना गीतले पुरा गर्नेछ ।’गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।
रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यो गीतमा दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । यसमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्म कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यसमा श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गरिएको छ ।












