कति पुग्यो ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

फिल्म । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रहरूको पुस २६ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अपेक्षाअनुसारको कमाइ गर्न सकेको छैन । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको यस फिल्मले पुस २६ गते शनिबारसम्म कुल १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा फिल्मका लागि ३५ हजार ८४२ वटा टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज उठाउने प्रयास गरिएको यसमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्