फिल्म । फिल्ममा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ (वितरक तथा प्रदर्शक) र नेपाल चलचित्र निर्देशक समाजलगायत फिल्म क्षेत्रसँग सम्बन्धित संस्थाहरूले अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोध गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
उक्त कार्यक्रममा संघसंस्थासँगै विभिन्न कलाकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर प्रतीकात्मक विरोध जनाएका थिए । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा धारणा राख्दै निर्माता संघका अध्यक्ष उदयकुमार इङ्नामले आगामी वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘लालीबजार’लाई समुदाय विशेषको पृष्ठभूमिमा कथा रहेको भन्दै वैशाख १५ गते प्रदर्शनमा रोक लगाइएको निर्णयप्रति असहमति जनाए ।
उनले भने, ‘फिल्म केवल मनोरञ्जनको माध्यम मात्र नभई विचार र अभिव्यक्तिको सशक्त माध्यम पनि हो । प्रदर्शनमा रोक लगाइनु दुःखद हो। प्रदर्शनको अन्तिम तयारीमा अवरोध सिर्जना हुनु समग्र उद्योगका लागि चिन्ताजनक विषय बनेको छ। राज्यको वैधानिक निकाय ‘केन्द्रीय फिल्म जाँच समिति’ले अनुमति दिइसकेको अवस्थामा प्रदर्शन रोकिनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर बनाएको छ ।’
अध्यक्ष इङ्नामले विधिको शासन र न्यायपालिकाप्रति सम्मान व्यक्त गर्दै सिर्जनामाथि हुने बन्देजको अन्त्य हुनुपर्ने माग गरे । यसैगरी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले आवश्यक प्रक्रिया पूरा गरी ‘केन्द्रीय फिल्म जाँच समिति’बाट प्रदर्शन अनुमति प्राप्त गरिसकेको फिल्मको प्रदर्शन रोकिनु दुःखद भएको बताए ।
उनले भने, ‘फिल्म समाजका विविध यथार्थ, विचार र संवेदनालाई अभिव्यक्त गर्ने सशक्त माध्यम हो। लोकतान्त्रिक व्यवस्थामा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र रहेर सर्जकले स्वतन्त्र रूपमा सिर्जना प्रस्तुत गर्न पाउनु पर्ने हाम्रो मान्यता हो। एउटा फिल्म निर्माण हुनु भनेको निर्देशक, लेखक, कलाकार र सयौँ प्राविधिकहरूको दीर्घकालीन श्रमको परिणाम हो। अन्तिम समयमा प्रदर्शन रोकिँदा आर्थिकसँगै कलात्मक क्षति पनि हुन्छ ।’
अध्यक्ष पराजुलीले ‘लालीबजार’लाई निर्वाध रूपमा प्रदर्शन गर्न सहयोग गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे। नेपाल फिल्म संघका अध्यक्ष नरेन्द्र महर्जनले प्रदर्शनको केही दिनअघि फिल्म रोकिनु प्रदर्शकका लागि पनि घाटाको विषय हुने बताए।
उनले भने, ‘निर्माण पक्षलाई मात्र होइन, प्रदर्शकलाई पनि ठूलो अन्योल सिर्जना हुन्छ। यस्तो अवस्थामा कुन फिल्म प्रदर्शन गर्ने भन्ने समस्या उत्पन्न हुन्छ। त्यसैले यस्ता निर्णय लिनुअघि सम्बन्धित निकायसँग परामर्श गरिनुपर्छ ।’
निर्देशक निश्चल बस्नेतले सरकारी निकायबाट अनुमति प्राप्त फिल्मलाई अन्य निकायबाट रोक लगाइनु दुःखद भएको बताए । उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर प्रदर्शन अनुमति पाएको फिल्मलाई तीन दिनअघि रोकिनु गम्भीर विषय हो। यसको आर्थिक क्षतिको जिम्मेवारी कसले लिने? अहिले नेपाली फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुन्छन्। यस्ता घटनाले फिल्मकर्मीलाई निरुत्साहित बनाउँछ ।’
विरोध कार्यक्रममा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक मनोज पण्डित, गणेशदेव पाण्डे, पुर्नेन्दु झा, लक्ष्मण रिजाल, सुयोग गुरुङ, रौनकविक्रम कँडेललगायतको सहभागिता रहेको थियो । सहभागीहरूले सृजनात्मक स्वतन्त्रता, गुणस्तर अभिवृद्धि र पेशागत अधिकारको संरक्षणका लागि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जोड दिएका थिए ।
गत सोमबार रोशनी नेपालीले फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । सो रिटमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न/नगराउन निर्देशन दिएको छ ।











