दयादेखि अनमोलसम्म फिट आँचल

फिल्म । अभिनेत्री आँचल शर्मा पछिल्लो समय ठूला व्यानरको रोजाईको अभिनेत्री बनेकी छिन् । यसवर्षको सुरुआतमै अभिनेता दयाहाङ राईसँग ‘डिग्री माइला’ मा देखिएकी आँचलको पाइपलाइनमा रहेको फिल्मले यो वर्ष उनको चर्चा प्रसस्तै हुनेछ । उनले यो वर्ष दयाकै जोडीको रुपमा ‘दुःखी आत्मा’ र प्रदीप खड्कासँग ‘पिताम्बर’ मा काम गर्ने तय भएसँगै हालै ‘जेरी अन टप’ मा अनुबन्धित भएकी छिन् ।

यो फिल्ममा उनको जोडी अनमोल केसी हुनेछन् । निर्माता सरोज न्यौपानेले सामाजिक सञ्जालमार्फत आँचल फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन् । फिल्ममा आना शर्मा पनि छिन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा आँचलको प्रवेशले उनलाई स्टारडमसँगै अभिनय गर्ने कलाकारका रुपमा हेर्न थालिएको छ । किनकि उनले दयासँगै अनमोलसँग पनि आफूलाई फिट बनाएकी छिन् । ‘फर्की फर्की’का सुयोग गुरुङको निर्देशनमा ‘जेरी अन टप’ तयार हुनेछ ।

कमेन्ट गर्नुहोस्