डिजिटल प्लेटफर्ममा छायो ‘दिलमा ठाउँ छ’

फिल्म । नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ यतिबेला डिजिटल प्लेटफर्ममा भाइरल बनेको छ । रिलिज भएको केहि दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज हासिल गरेको छ । टिकटकमा यस गीतमा २ लाख ५० हजारभन्दा बढी भिडियो बनिसकेका छन् भने फेसबुक र इन्स्टाग्रामका रील्समा पनि गीत व्यापक रूपमा प्रयोग भइरहेको छ।

गीतको लोकप्रियताको प्रमुख कारण यसको लोक फ्लेभर, आकर्षक संगीत र सुमधुर गायनलाई मानिएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। क्याची धुन र चर्चित गायक–गायिकाको प्रस्तुतिले गीतलाई छोटो समयमै दर्शकमाझ लोकप्रिय बनाएको छ।

गीतको भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्। विशेषगरी पारस र दिव्याको अनस्क्रिन केमेस्ट्री तथा सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार गरिएको ‘हुक स्टेप’ सामाजिक सञ्जालमा व्यापक रूपमा पछ्याइएको छ। यही कारण गीत टिकटकसहित विभिन्न प्लेटफर्ममा ट्रेन्डिङ बनेको हो।

यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरबाटै चर्चा बटुलेको **‘बेहुली’**लाई यो गीतको सफलताले थप चर्चा दिलाएको छ। सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्। गीतको लोकप्रियतासँगै फिल्मप्रति दर्शकको उत्सुकता पनि बढेको निर्माण पक्षको विश्वास छ।

कमेन्ट गर्नुहोस्