फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ यतिबेला प्रदर्शनको तयारीमा छ । पुरानो ‘मितेरी’ साइनोलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले हराउँदै गएको सामाजिक परम्परालाई उठान गर्ने प्रयास गरेको देखिन्छ ।
निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले करिब आठ वर्षअघि नै फिल्मको परिकल्पना गरेका थिए । सोही समयमा अभिनेता दयाहाङ राईलाई स्क्रिप्ट सुनाइएको थियो । उनलाई कथा मन परे पनि विभिन्न कारणले तत्काल काम अगाडि बढ्न सकेन । बीचमा अन्य परियोजनामा व्यस्तता र कोभिड-१९ को प्रभावका कारण ढिलाइ भएको निर्माण पक्ष बताउँछ। पछि समय मिलेसँगै फिल्म अघि बढाइएको हो ।
फिल्ममा दयाहाङ राईसँगै सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देलको अभिनय रहेको छ । फिल्मका गीतहरूले पनि यतिबेला चर्चा बटुलिरहेका छन्। विशेषगरी ‘गैराघरे साइँली’ गीत दर्शकमाझ लोकप्रिय बनेको छ । अभिनेता राईका अनुसार ‘मितज्यू’ सम्बन्धहरूको कथा हो । ‘यो पारिवारिक सम्बन्ध, मित्रता र व्यवसायिकताको कथा हो। गाउँदेखि शहरसम्मको यात्रामा तीन जना चालकको जीवन र उनीहरूको सोच वरिपरि कथा घुम्छ’, उनले भने ।
टिजर र ट्रेलरले फिल्मको सम्पूर्ण कथा नखुलाउने बताउँदै उनले दर्शकले पूरा फिल्म हेरेपछि मात्रै सबै पक्ष बुझ्न सक्ने उल्लेख गरे । आफ्नो भूमिकाबारे उनले भने, ‘म सधैं देखिने पात्रभन्दा फरक रूपमा प्रस्तुत भएको छु। पात्रको भित्री मनोविज्ञानलाई समात्ने प्रयास गरेको छु, जुन अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि जोडिन्छ ।’
सहअभिनेता सौगात मल्लसँगको सहकार्यबारे दयाहाङले प्रतिस्पर्धाभन्दा सहकार्य नै प्रमुख रहेको बताए । ‘हाम्रो उद्देश्य फरक-फरक छ। दर्शकलाई सुरुमा केही अन्योल लाग्न सक्छ, तर वास्तविकता बुझ्न फिल्म हेर्नुपर्छ’, उनले भने ।
नवअभिनेत्री तेरिया मगरसँग काम गर्दा अनुभव सकारात्मक रहेको उल्लेख गर्दै उनले नयाँ-पुरानो कलाकार भन्ने नभई पात्रअनुसारको प्रस्तुति महत्वपूर्ण हुने बताए । व्यक्तिगत जीवनमा ‘मित’ लगाउने अनुभव नभएको उल्लेख गर्दै उनले भने, ‘समाजमा यसको परम्परा र महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन ‘मित’ लगाउने चलन थियो भन्ने सुनेको छु ।’
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन्। फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। निर्माण टिम फिल्मप्रति निकै उत्साहित देखिएको छ।












