प्रकाशका लागि किन खास छ ‘परालको आगो’ ?

फिल्म । नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो, प्रकाश सपुत । गायनमा जस्तै अभिनयमा पनि अब्बल मानिने उनले अभिनय गरेका फिल्म ‘परदेशी २’, ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘माइतीघर’ दर्शकमाझ लोकप्रिय बनेका छन् । अभिनय क्षमता देखाउने उपयुक्त अवसरको खोजीमा रहेका प्रकाश सपुत सोचेअनुसारको क्यारेक्टर नपाउँदा केही निराश थिए । तर अब भने नयाँ फिल्म ‘परालको आगो’ मार्फत उनले ‘चामे’ पात्रको भूमिका सशक्त रूपमा निर्वाह गरेका छन्। यस फिल्मप्रति आफू निकै आशावादी रहेको उनले बताएका छन्।

फिल्मको ट्रेलरमा प्रकाश सपुतको अभिनय प्रभावशाली देखिन्छ। फरक कथामा आधारित यस फिल्ममा उनले कहिले श्रीमतीलाई माया गर्ने र श्रीमती माइत जाँदा भैँसीमाथि रिस पोख्ने पात्र निर्वाह गरेका छन्। उक्त दृश्य आफूले सहज रूपमा गर्न नसकेको उनले बताए।

‘मैले भैँसी कुट्नुपर्ने सिन थियो, तर म त्यसलाई गर्न सकिरहेको थिइनँ,’ उनले सुटिङका क्षण सम्झँदै भने, ‘सिन पनि राम्रो आओस् र जनावरलाई पनि केही नहोस् भन्नेमा अलि छटपटी थियो। त्यसबारे सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाउनु भयो।’

अरूको कृतिमा अभिनय गर्नु सहज कुरा नभए पनि उनले आफ्नो भूमिकामा साहसपूर्वक प्रस्तुत भएको देखिन्छ। उनी भन्छन्, ‘‘परालको आगो’ भन्नासाथ श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र द्वन्द्वको कथा आउँछ।’

यही शुक्रबार अर्थात् बैशाख ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रकाश सपुतका साथै सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँलगायतको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलको छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

फिल्मको वितरण नेपालभर आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। यो फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित छ।

कमेन्ट गर्नुहोस्