निफमा ‘रसियन फिल्म डेज’ आयोजना हुने

फिल्म । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को नवौं संस्करणमा ‘रसियन फिल्म डेज’ आयोजना हुने भएको छ। चैत १९ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत उक्त कार्यक्रममार्फत चार रसियन फिल्म स्क्रिनिङ गरिने आयोजकले जनाएको छ। ‘रसियन फिल्म डेज नेपाल २०२६’ अन्तर्गत निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रसियन हाउसमा अगस्ट, द च्यालेन्ज, द डिनो फ्यामिली र अल रङ गर्ल प्रदर्शन गरिनेछ।

निफका अध्यक्ष केपी पाठकका अनुसार नेपाल र रुसबीच सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्ने तथा नेपाली फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय फिल्म उद्योगसँग जोड्ने उद्देश्यले कार्यक्रम समावेश गरिएको हो। उनले नेपाली दर्शक र फिल्मकर्मीले रसियन फिल्म, कला र प्रविधिबारे जानकारी पाउने तथा त्यहाँका फिल्म मेकरसँग सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त गर्ने बताए।

नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा यो विशेष कार्यक्रम राखिएको जनाइएको छ। यसैबीच, निफको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत द पोएट पनि समावेश गरिएको छ। फेलिक्स उमारोभद्वारा निर्देशित यो फिल्म रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ। उक्त फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरमा प्रदर्शन गरिनेछ। आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्।

कस्ता छन् स्क्रिनिङ हुने फिल्म?

फिल्म अगस्ट ऐतिहासिक तथा थ्रिलर जनरामा आधारित छ, जसमा दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत रेड आर्मीको संघर्ष चित्रण गरिएको छ। द च्यालेन्ज अन्तरिक्षमा छायांकन गरिएको विश्वकै पहिलो फिल्म हो। यसमा एक चिकित्सकले अन्तरिक्ष स्टेशनमा पुगेर बिरामीको शल्यक्रिया गर्नुपर्ने साहसिक कथा प्रस्तुत गरिएको छ।

एडभेन्चर तथा पारिवारिक कथामा आधारित द डिनो फ्यामिलीमा एक किशोरी डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि गरेको संघर्ष देखाइएको छ।त्यसैगरी अल रङ गर्लले ‘बुलिङ’को विषय उठान गर्दै किशोरीको आत्मसम्मान र विद्रोहको कथा प्रस्तुत गरेको छ।

कमेन्ट गर्नुहोस्