‘चोट लागेको हात चार महिनापछि उपचार गराएँ’

फिल्म । अभिनेता प्रमोद अग्रहरी जिवन्त अभिनय गर्ने कलाकारमा पर्छन । उनले अभिनय गरेको फिल्ममा निर्वाह गरेको भूमिकाले दर्शकको मन जित्ने गरेको छ । प्रमोदले आफ्नो अभिनय क्षमताकै कारण आफुलाई परिचित गराउन सफल छन् । स-सानो भूमिका भएपनि उनि आफ्नो बलियो छाप छोड्ने गर्छन , त्यसैले उनि नोटिस हुन्छन र चर्चा हुन्छ । उनि अभिनित पछिल्लो फिल्म हो ‘जाइरा’ । फिल्ममा उनि ‘राजा’ को भूमिकामा छन् । सार्वजनिक ट्रेलर हेर्दा राजाले नेगेटिभ क्यारेक्टरलाई निर्वाह गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

उनले राजाको क्यारेक्टरलाई केहि डरलाग्दो बनाउने प्रयास गरेका छन् । मेकअप पनि त्यहि अनुरुप छ । यस्तो मेहनत गर्ने इनर्जी टिमले आउने उनले बताए । उनले शुटिङ गरिएको मेहनतले पर्दामा रङ्ग ल्याएको बताए । तर , सुरुवाती दिनमा फिल्म प्रस्ताव हुँदा उनलाई अनौठो लागेको थियो । ‘मलाइ ५ दिनको सेड्युल हो भनेर क्यारेक्टर प्रस्ताव भयो’ उनले भने ‘त्यतिबेला कस्तो क्यारेक्टर रैछ ५ दिनमै सकिने जस्तो लागेको थियो ।’ तर जब उनले टिम भेटे , टिमवर्क देखे उनलाई लाग्यो एक दिन भएपनि काम गर्छु । ‘म उनीहरुको काम गर्ने शैली र मेहनतले इम्प्रेस भए’ प्रमोदले टिम ज्वाइन गर्नुको कारण खुलाए । उनले आफ्नो क्यारेक्टरको कुरा गर्नको लागि निर्देशकसंग भेट्न पुगेका थिए ।

निर्देशक आशुतोष श्रेष्ठले उनलाई काम गर्ने शैली देखाए । ‘निर्देशकले हरेक क्यारेक्टरको स्टोरी बोर्डलाई जसरि तयार गरेको थियो त्यसैले मलाइ लाग्यो काम राम्रो हुन्छ भनेर’ उनले बताए । उनले राजालाई पाइसकेपछि त्यसैको बारेमा सोच्न थाले । उनलाई सानो भूमिकालाई ‘जबर्जस्त’ बनाउनु थियो । ‘मैले खेलको नियम बुझ्न थाले र मेरो जस्तो क्यारेक्टरले गर्ने विभिन्न क्रियाकलापलाई पनि अध्यन गरे’ प्रमोद भन्छन् ‘मैले ब्वासोबाट राजालाई निकालेको हो ।’ ब्वासोकै टेक्निकमा राजाले गेम चल्ने समेत उनले बताए । फिल्ममा ५ दिनको लागि कुरा भएता पनि उनको क्यारेक्टर बढ्यो । यतिबेला उनको मेकअपको पनि चर्चा भएको छ । ‘काम गर्दै जादा म र निर्देशक क्लिसे नलागोस भन्नेमा सतर्क थियौ त्यसैले केहि आइडिया शेयर गरेर त्यस्तो बनाएका हौ’ उनले भने ।

निर्देशकसंगको सहकार्य अनुसार उनले आफुलाई प्रस्तुत गरे । तर , छायाँकनमा उनलाई सहज भने थिएन । उक्त समयमा उनको हातमा चोट लागेको थियो । तिनकुनेमा एउटा छायाँकनको क्रममा उनको हातमा चोट लागेको हो । जसलाई उनले नजर अन्दाज गरे । ‘मलाई सामान्य चोट लागेको जस्तो थियो तर त्यो दुइ दिनपछि छायाँकनकै क्रममा हात फुल्न थाल्यो’ प्रमोद भन्छन् ‘त्यो समयमा एक्सनकै सिन थियो तर पनि काम गरे ।’ उनि लन्च ब्रेकमा डाक्टर कहाँ पुगेका थिए । उनको हत्केलाको पछाडी पट्टिको हड्डी क्रयाक भएको हो । डाक्टरले उनलाई प्लास्टर गर्न सुझाए तर उनले छायाँकनको निरन्तरतामा समस्या आउने भन्दै सामान्य औषधि मात्र लिए ।

‘मेरो कारणले छायाँकन रोकिने भएपछी कलाकारिताको धर्मले मलाइ त्यस्तो गर्न दिएन’ उनले काम छाडेनन् । उनले छायाँकनको समयमा आइसले सेक्थे भने बाँकी समयमा ब्यान्डेज गर्थे । त्यहि क्रममा उनले २ साता छायाँकन गरे । ‘मलाइ त डाक्टरले होस् गर नत्र लाइफ ड्यामेज हुन्छ भनेका थिए तर मैले टिमको इनर्जीको कारण आफुलाई रेस्ट दिन सकिन’ उनले हातको प्रवाह नगरी छायाँकन गरे । ‘जाइरा’ को छायाँकन सकिएपछि पनि उनले उपचार गराएनन् । लगतै ‘सिंह दरबार’ को छायाँकनको लागि जनकपुर पुगे । ‘मैले दिएको सेड्युल अनुसार टिम रेडी थियो त्यसैले मैले ब्यान्डेज गर्न सकिन’ प्रमोद भन्छन् ‘ब्यान्डेज गरेको भए एक महिना काट्नु मिल्दैनथ्यो ।’ उनले झन्डै एक सय पाँच दिन जनकपुरमा छायाँकन गरे त्यसैले उपचार पाएनन् । उनको हातमा चोट लागेको ४ महिनापछि उनि प्लास्तर गर्न अस्पताल पुगे ।

‘पहिला त डाक्टर निकै रिसाउनु भयो पछि उपचार गरे’ उनले त्यो प्लास्तर झन्डै डेढ महिना राखे । पछि त्यसलाई हटाए पनि उनको औलाको नकल्स केहि दबेको छ , जहाँ चोट लागेको थियो । तर यतिबेला ट्रेलरबाट पाएको रेस्पोन्सले उनको दुखलाई भुलाएको छ । ‘हाम्रो मेहनतलाई दर्शकले हेरेर जब तारिफ गरिदिनु हुन्छ त्यो भन्दा खुसि अरु केहि हुँदैन’ उनले भने । फिल्ममा प्रमोदसँगै नम्रता श्रेष्ठ पनि छिन् । उनि फिल्मको टाइटल क्यारेक्टर हुन् । फिल्ममा नम्रता र प्रमोदसँगै, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

कमेन्ट गर्नुहोस्