‘लालीबजार’ मा अडिसन दिएर छनोट भएकी हुँ : स्वस्तिमा खड्का

फिल्म । अभिनेत्री स्वस्तिमा खड्का ले अभिनय यात्रा सुरु गरेको करिब एक दशकपछि पहिलोपटक अडिसन दिएर फिल्ममा अनुबन्धित भएको बताएकी छन् । उनले षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ मा अडिसनमार्फत भूमिका प्राप्त गरेको जानकारी दिएकी हुन् । फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले निर्माण टिमप्रतिको विश्वास र फिल्मको विषयवस्तु मन परेकै कारण अडिसन दिएको बताइन् ।

उनले भनिन्, ‘अभिनय गर्न थालेको १० वर्षपछि पहिलोपटक अडिसन दिएर भूमिका पाएकी हुँ। मैले निभाएको पात्र निकै गम्भीर र चुनौतीपूर्ण छ। कलाकारका लागि यस्तो भूमिका पाउनु अवसर पनि हो र चुनौती पनि। मैले निभाएको भूमिकाबारे धेरै खुलाउन मिल्दैन, तर यो मेरो अघिल्ला कामभन्दा फरक छ ।’

फिल्ममा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यु कलाकार विशाल देवकोटा, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदी ले अभिनय यात्रा सुरु गरेका छन् ।

फिल्ममा यम थापा को निर्देशनसँगै कथा लेखन रहेको छ। निर्देशक थापाले आफूसँग रहेको कथा षट्कोण आर्टसलाई सुनाएपछि सहकार्य जुरेको बताए । उनले भने, ‘सुरुमा मैले कथा मात्र दिने सोच बनाएको थिएँ। तर निर्माण टिमले मलाई नै निर्देशन गर्न प्रस्ताव गर्‍यो। मैले यसलाई आफ्नो निर्देशकीय यात्राको महत्वपूर्ण अवसरका रूपमा लिएको छु।’

फिल्मको पटकथा तथा संवाद निर्देशक थापासँगै प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका छन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ ले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्