अन्तर्राष्ट्रिय बजारबाट ‘दिमाग खराब’ बाट नाफाको १० प्रतिशत क्यानलाई

फिल्म । घरेलु बजारबाट भएको मुनाफाको पाँच प्रतिशत नेपाल क्रिकेट सङ्घ (क्यान) दिने घोषणा गरिएको ‘दिमाग खराब’फिल्मको अन्तर्राष्ट्रिय बजारबाट हुने मुनाफाको दश प्रतिशत पनि दिइने भएको छ । फिल्मको जापान, कोरिया र हङकङ वितरकले समेत क्यानसँग सहकार्य गर्ने भएका छन् । बुधबार एक पोस्टर सार्वजनिक गर्दै युएनए इन्टरटेनमेन्ट र उज्जवल गुरागाँईले यी तीन देशमा हुने फिल्मको कुल मुनाफाको (नेट) १० प्रतिशत क्यानको विकासका लागि दिने घोषणा गरे ।

सार्वजनिक सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको फिल्मको सामाजिक कार्यले प्रचारप्रसारमा सघाई रहेको छ । हाल चलिरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटका खेलहरुमा ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’ जस्ता पुरस्कार राशीले दर्शकमाझ हाइप उच्च बनाइरहेको छ ।

अन्तर्राष्ट्रिय वितरक गुरागाईंले हरेक म्याचमा सेन्चुरी हान्ने खेलाडीलाई ५ हजार नगद र हरेक म्याचमा लिने १ विकेटको नगद १० हजारका दरले पुरस्कार दिने घोषणा गरेका छन् । निर्माण टिमले क्यानसँग मिलेर ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट एक गीतमा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म सामाजिक विषयमा केन्द्रीत छ ।

रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

कमेन्ट गर्नुहोस्